सुर्खेत। कर्णाली प्रदेशको राजनीतिक समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा औपचारिक दाबी पेस गरेका छन्। मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर उनले सरकार गठनका लागि आफ्नो दाबी दर्ता गराएका हुन्।
शाहीको दाबीलाई नेकपा एमालेले समर्थन गरेको छ। दाबी पेसका क्रममा एमालेका प्रमुख सचेतक टेकराज पछाई पनि प्रदेश प्रमुखको कार्यालयमा उपस्थित थिए। सत्ता समीकरण बदलिएसँगै दुई वर्ष प्रतिपक्षमा रहेको नेकपा पुनः सरकारको नेतृत्वमा फर्किने अवस्था बनेको छ।
प्रदेश प्रमुख कार्यालयका अनुसार शाहीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने र बुधबार शपथ गराउने तयारी भइरहेको छ। नियुक्तिसँगै शाही कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री बन्नेछन्, जससँगै प्रदेशको सत्ता समीकरणले नयाँ मोड लिएको छ।




































