काठमाडौं । नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने संकेतबीच प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिइएको पुष्टि भएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार सार्वजनिक रूपमा निम्तो दिइसकिएको जानकारी गराउँदै सम्भावित उच्चस्तरीय भ्रमणको संकेत दिएको हो।
नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको बताएका हुन्।
भारतको यो सार्वजनिक पुष्टि नेपाल–भारतबीच उच्च राजनीतिक तहमा संवाद र सहकार्य थप सुदृढ हुने संकेतका रूपमा हेरिएको छ। यद्यपि भ्रमणको मिति, एजेन्डा र औपचारिक कार्यक्रमबारे भने दुवै देशले अहिलेसम्म कुनै विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, सीमा र पारस्परिक हितका विषयमा उच्चस्तरीय छलफलको वातावरण बन्ने अपेक्षा गरिएको छ।




































