काठमाडौं । भारतस्थित धौलिगङ्गा जलविद्युत् आयोजनाको स्लुइस गेट सफाइका लागि बाँध खोलिने भएपछि महाकाली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार साउन १३ गते बिहान ६ बजेदेखि साउन १५ गते साँझ ६ बजेसम्म बाँध खोलिनेछ। यस अवधिमा महाकाली नदीको जलस्तर अचानक बढ्न सक्ने भएकाले नदी किनारका बस्ती र गतिविधि जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

प्रशासनले नागरिकलाई नदीमा माछा मार्न, ढुंगा–बालुवा उत्खनन गर्न, अनावश्यक आवतजावत गर्न तथा अन्य जोखिमपूर्ण गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायलाई समेत पूर्वतयारी र निगरानी बढाउन निर्देशन दिइएको छ।

भारततर्फको बाँध सञ्चालनका कारण महाकालीमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सीमावर्ती क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले सबैलाई अपिल गरेको छ।