काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनालाई लिएर नेकपा (एमाले)ले सरकारमाथि कडा प्रश्न उठाएको छ। पार्टीले घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै राज्यको बल प्रयोगमाथि गम्भीर आपत्ति जनाएको छ।

महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यमा सरकार र स्थानीय प्रशासनले संवेदनशील अवस्थालाई समयमै संवादमार्फत समाधान गर्न नसकी अनावश्यक बल प्रयोग गरेको आरोप लगाइएको छ। एमालेका अनुसार यही कारण परिस्थिति थप तनावपूर्ण बनेको हो।

पार्टीले गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।


एमालेले राज्यलाई दमनकारी शैली त्यागेर संयमता अपनाउन, वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गरेको छ। साथै, देवानगञ्जसहित सुनसरीका नागरिकलाई अफवाहमा नलाग्न र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।