काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूले आवश्यकताभन्दा धेरै स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेर मन्त्रालयलाई राजनीतिक कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनाएको आरोप लगाएका छन्। उनका अनुसार मन्त्रालयमा स्वकीय र सल्लाहकारको भीड यति बढेको छ कि स्थायी कर्मचारी र सहसचिवहरूलाई समेत बस्ने ठाउँको अभाव हुन थालेको छ।

पत्रकार सम्मेलनमा बोल्दै घिसिङले केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय सचिव राखेको र दर्जनौं तलबविहीन सल्लाहकारसमेत नियुक्त गरेको दाबी गरे। मन्त्रालयको संख्या घटाएर सरकारी खर्च बचत गर्ने सरकारको उद्देश्य यस्ता नियुक्तिका कारण उल्टै खर्च बढाउने दिशामा गएको उनको आरोप छ।

उनले स्वकीय र सल्लाहकारको बढ्दो हस्तक्षेपले कर्मचारीतन्त्रको मनोबल कमजोर बनाउने, प्रशासनिक काममा अनावश्यक प्रभाव पार्ने र सुशासनमाथि प्रश्न उठाउने बताए। सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थासमेत राजनीतिक निकट व्यक्तिलाई रोजगारी दिने माध्यम बनेको आरोप लगाउँदै उनले यस्तो व्यवस्था पुनः समीक्षा गर्न सरकारसँग माग गरेका छन्।