काठमाडौं । देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गराएर सरकारमाथि दबाब बढाएको नेपाल चिकित्सक संघ अहिले आन्दोलनको नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ। संघको केन्द्रीय कार्यालयमा जारी बैठकले अबको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णायक निर्णय गर्ने अपेक्षा गरिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो। आन्दोलनका कारण उपचारका लागि पुगेका हजारौं बिरामी प्रत्यक्ष प्रभावित बनेका छन्।

संघका केन्द्रीय सदस्य डा. राकेश शाहका अनुसार जारी बैठकमा हालसम्मको आन्दोलनको समीक्षा, सरकारको प्रतिक्रियाको मूल्यांकन तथा आगामी आन्दोलनका कार्यक्रमबारे गम्भीर छलफल भइरहेको छ। बैठकको निर्णयपछि आन्दोलनलाई थप सशक्त बनाउने वा वार्ताको बाटो रोज्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।