हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा आज साँझ पदबाट राजीनामा दिने भएका छन्। मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा घोषणा गर्ने तयारी गरेका हुन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले लामाले पत्रकार सम्मेलनमार्फत राजीनामा दिने जानकारी दिएका छन्। कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तन भएपछि लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मार्गप्रशस्त गर्न लागेका हुन्।

१४ साउनमा भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामामाथि राजीनामाको दबाब बढ्दै आएको थियो। यसअघि मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट हटिए पनि सरकारको नेतृत्व छोड्नुपर्ने कुनै संवैधानिक वा कानुनी आधार नरहेको तर्क गर्दै आएका थिए।

तर दलको नेतामा चयन भएका बानियाँले पार्टीको विधानअनुसार मुख्यमन्त्रीले पद छोड्नुपर्ने अडान लिँदै आएपछि विवाद बढेको थियो। लामाको अडान कायमै रहेपछि सभापति देउवाले १६ साउनमा उनलाई काठमाडौं बोलाएर छलफल गरेका थिए। त्यसपछिको सहमतिअनुसार उनले आज राजीनामा दिन लागेका हुन्।

९ साउनमा आफ्नै पार्टीका बहुमत सांसदले दलको कार्यालयमा मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनी संकटमा परेका थिए। १३ साउनमा भएको मतविभाजनमा ३७ जना कांग्रेस सांसदहरूमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा मत दिएका थिए भने १५ जनाले विपक्षमा।

१४ साउनमा भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँले २२ मत ल्याएर विजयी भएका थिए भने लामाले १४ मत मात्र पाएका थिए। १ मत बदर भएको थियो।

मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी गरेका छन्। बानियाँ निकट सांसद मिनकृष्ण महर्जनका अनुसार राजीनामापछि नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइनेछ।