डब्लिन — आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक पुरुष क्रिकेटको इतिहासमा एकै स्पेलमा पाँच बलमा लगातार पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्।

उनले यो अद्भुत उपलब्धि इन्टर-प्रोभिन्सियल टी–२० ट्रफी अन्तर्गत मन्स्टर रेड्सका लागि नर्थ–वेस्ट वारियर्सविरुद्ध हासिल गरेका हुन्। क्याम्फरले २.३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिँदै आफ्नो स्पेल समाप्त गरे।

मन्स्टर रेड्सका कप्तानसमेत रहेका क्याम्फरले दोस्रो र तेस्रो ओभरमा मिलाएर यी पाँच विकेट लिएका थिए। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स टोली ८७/५ को अवस्थामा हुँदा क्याम्फरको यो विस्फोटक प्रदर्शनपछि एक रन थप्दै ८८ रनमै समेटिएको थियो

उनको विकेट लिने यात्रा १२औं ओभरको पाँचौं बलबाट सुरु भयो। उनले जेरेड विल्सनलाई इनस्विङ्गर बलमा बोल्ड गरे। त्यसपछि अग्लो सिधा बलमा ग्राहम ह्युमलाई एलबीडब्लु आउट गरे। ओभर परिवर्तनपछि १४औं ओभरको पहिलो बलमै एन्डी म्याकब्राइनलाई डीप मिडविकेटमा क्याच गराउँदै ह्याट्रिक पूरा गरे।

तर उनले यहीँ रोकिएनन्। त्यसपछि लगत्तैको बलमा रोबी मिलर विकेटकिपरमार्फत क्याच आउट भए भने पाँचौं बलमा जोस विल्सनलाई बोल्ड गर्दै पाँच बलमा पाँच विकेटको अद्वितीय कीर्तिमान बनाए।

खेलपछि आफ्नो प्रदर्शनबारे प्रतिक्रिया दिँदै क्याम्फरले भने, “ओभर परिवर्तन भएकोले मलाई के भइरहेको हो थाहा थिएन। म केवल आफ्नो योजनामा टिकिरहेँ र भाग्यले साथ दियो।”

६ बलमा ६ विकेट लिन सक्थे भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भने, “त्यस्तो लाग्दैन। जे भयो, भइहाल्यो। खेलमा यस्तो उतारचढाव आउँछ नै, तर मैदानमा फर्कन पाउँदा म निकै खुसी छु।”

औंलाको चोटका कारण वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाएका क्याम्फरको यो दोस्रो पुनरागमन खेल थियो। पहिलो खेलमा उनले ५७ रन बनाएका थिए तर बलिङ गरेका थिएनन्। बिहीबारको खेलमा पाँच विकेट लिनुअघि उनले २४ बलमा ४४ रनको प्रभावशाली पारी पनि खेले।

यद्यपि, पाँच बलमा पाँच विकेट लिने इतिहासमा उनी पहिलो पुरुष बलर भए पनि विश्व क्रिकेटमा पहिलोपटक यस्तो कारनामा भने होइन। जिम्बाब्वेकी महिला क्रिकेटर केलिस नामले २०२४ मा घरेलु टी–२० खेलमा पाँच बलमै पाँच विकेट लिएर यस्तो कीर्तिमान बनाइसकेकी थिइन्।