काठमाण्डौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चले उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।

OM Sai Pathibhara Hospital

उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा शुक्रबार सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।

सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

रिहा भएसँगै उनले भने, 'तस्करहरूविरुद्धको लडाईं अझै जारी छ, यो लडाईंबाट म भाग्दिन।' उनले प्रहरी हिरासतमा राम्रो व्यवहार भएको पनि बताए।