काठमाण्डौ  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई रिट खारेज भएको छ ।

रिट खारेज भएसँगै प्रसाईं तत्काललाई प्रहरी हिरासतमै रहनेछन् भने बैंक/वित्तीय संस्थाले उनीबाट ऋण असुली प्रक्रिया अघि बढाउन पाउने भएका छन् ।

OM Sai Pathibhara Hospital

कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अर्बौं रुपैयाँ लगानी रहेको बताएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

प्रसाइलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम अनुसन्धान निम्ति पक्राउ गरी अन्य कसुर पनि लगाउन खोजेको छ ।

प्रहरीले साइबर अपराधबाहेक अन्य अनुसन्धानका लागि भन्दै म्याद थप गरेपछि उनका छोरा निराजन प्रसाईंले पुस २ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमा आफूलाई गैरकानूनी रूपमा हिरासतमा लिएकाले मुक्त हुन पाउनुपर्ने माग थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको इजलासले प्रसाईंको रिट खारेज गरिदिएको हो । रिट खारेज भएकाले अर्को आदेश नहुञ्जेल र प्रहरीले अदालतबाट लिएको थप म्याद रहुञ्जेल प्रसाईं प्रहरी हिरासतमै रहनेछन् ।

काठमाडौंमा सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेकै दिन उच्च अदालत विराटनगर अन्तर्गत इलाम इजलासले पनि दुर्गा प्रसाईंको अर्को रिट खारेज गरिदिएको छ ।