राजबिराज । सोमबारदेखि राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । यो सँगै देशका १० वटा आन्तरिक विमानस्थलमा अब रात्रिकालीन उडान सम्भव भएका छन् । सोमबार काठमामाण्डूबाट दिउँसो गएको बुद्ध एयरको एटीआर-७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८:२० बजे काठमाण्डूका लागि उडान भरेको छ।
राजविराज विमानस्थलका प्रमुख ध्रुवराज श्रेष्ठका अनुसार रात्रिकालीन उडानका लागि यात्रुसहितको बुद्ध एयरको जहाज सोमबार साँझ सवा ५ बजे राजविराज विमानस्थलमा अवतरण भएको थियो। मन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम गरेर ६ बजेर ३० मिनेटमा बुद्धको जहाज रात्रीकालीन उडान गर्ने समय तालिका रहेको थियो । मन्त्री पाण्डे समयमा नआएपछि तोकिएको समय तालिका परिवर्तन गरिएको थियो।
यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटीमा मात्रै राजविराज विमानस्थलमा उडान हुने गर्थ्यो। नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रि उडानका लागि धावनमार्गमा जहाजलाई दिशानिर्देश गर्ने 'लाइट सिस्टम' जडान गरेपछि अब न्यूनतम २ हजार मिटर भिजिबिलिटीमा पनि दिउँसो वा राति उडान सम्भव हुने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भरतपुरबाहेक तराईका सबै विमानस्थल रात्रीकालीन उडान अवतरण गर्ने अवस्थामा रहेको बताउँदै केही दिनभित्रै सुर्खेत विमानस्थललाई पनि रात्रीकालीन उडानका लागि योग्य बनाइने बताए ।
पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थलको स्तरोन्नतिसँगै सप्तरीका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा पर्यटकीय चहलपहल बढ्ने बताए । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष एवं सप्तरी-२ का सांसद सीके राउत र सप्तरी-३ का सांसद दिनेश यादव, पूर्वपर्यटनमन्त्री एवं कांग्रेस नेता जितेन्द्रनारायण देव, एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेललगायतका वक्ताहरूले राजविराज विमानस्थलबाट रात्रीकालीन उडान भए यसक्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउछन।