काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव कार्यक्रमका क्रममा शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामध्ये त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा तथा विभिन्न क्याम्पसका विद्यार्थी नेताहरू पनि रहेका छन्। उनीहरूलाई हाल प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।
विद्यार्थीहरूले विश्वविद्यालयमा मेरिटोक्रेसी लागू गर्न, प्रधानमन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति बनाउने व्यवस्था हटाउन तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका थिए। स्ववियू सभापति दीपकराज जोशीका अनुसार वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन खोज्दा विद्यार्थीलाई प्रवेशमा रोक लगाइएपछि विरोध प्रदर्शन भएको हो। उनले विश्वविद्यालयलाई पर्याप्त बजेट नदिइएको र विद्यार्थीको आवाज दबाउन खोजिएको आरोप लगाए।
यसैबीच, शिक्षामन्त्री सहभागी कार्यक्रममा ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गर्ने थप ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।वार्षिकोत्सव समारोहलाई लक्षित गर्दै भएको प्रदर्शनपछि त्रिवि परिसर केही समय तनावग्रस्त बनेको थियो।






































