पोखरा । रास्वपाका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेमाथि अनुसन्धानका लागि ५ दिन म्याद थप भएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो।जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो ।
कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।






































