काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्म नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ। उडान अनुमति बिना नै यात्रुसहित थाइल्यान्डबाट आइतबार काठमाडौँ आएको यस जहाजसँगै नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिउँदे उडान तालिका लागू भए पनि उडान अनुमति नलिई नेपाल प्रवेश गरेको कारण थाई एयर एसियाको सम्पूर्ण उडान रद्द गरिएको छ। नेपालका लागि थाई एयर एसियाको जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभललाई समेत कारबाही गरिएको छ।

OM Sai Pathibhara Hospital

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाले जहाजलाई अनुमति नलिई नेपाल ल्याएको कारण कारबाही अघि बढाइएको बताए। यात्रु र हवाई सुरक्षालाई ध्यानमा राख्दै जहाजलाई विशेष चार्टर उडानको रूपमा अवतरण अनुमति दिइएको थियो।