काठमाडौं— पछिल्लो दुई दिनको उकालो यात्रा रोकिँदै आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर २५९७.४९ बिन्दुमा पुगेको छ। तीन सय १० कम्पनीका एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँ पुगेको छ।
आज वित्त समूहको उपसूचकमा एक दशमलव ७५ प्रतिशतले वृद्धि भए पनि अन्य सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा बढी गिरावट निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतले भएको छ, भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बिमा समूहमा पनि क्रमशः गिरावट देखिएको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, व्यापार र अन्य समूहका उपसूचकहरू पनि घटेका छन्। थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको २० करोड ७१ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको सात लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।





































