काठमाडौं— सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले बढी हो।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अगष्ट महिनाको तुलनामा सेप्टेम्बरमा भारतबाट आउने पर्यटक घटेपनि चीन, अमेरिका, र युरोपबाट आउने पर्यटकको संख्या बढेको छ। सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका थिए। चीनबाट भने सेप्टेम्बरमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक नेपाल भित्रिएका छन्।
मनसुनको कारण भारतीय पर्यटक घटेको अनुमान गरिएको छ, भने अमेरिकाबाट अगस्टमा ५ हजार ६ र सेप्टेम्बरमा १० हजार ८४ पर्यटक नेपाल आएका छन्।
सन् २०२४ मा सबैभन्दा बढी पर्यटक मार्चमा आएका थिए, जसमा एक लाख २८ हजार एक सय ६७ जनाले नेपाल भ्रमण गरेका थिए, भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटक नेपाल भित्रिएका थिए।