काठमाडौं — सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ। सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा पक्राउ गरी कास्की पुर्याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको हो। 

जोशीलाई संगठित अपराध र ठगीमा थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले सोमबार प्रहरीलाई पाँच दिनका लागि अनुमति दिएको छ। कास्की प्रहरीले जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरेको छ। बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन्। 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार जोशीले भनेका छन्, “सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ।” छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले भनेका थिए, “टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ नगर्नुहोला।” तर हालको अनुसन्धानमा जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएको पुष्टि भएको छ। 

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्वडीआईजी जोशीलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको छ। कान्तिपुर दैनिकबाट