काठमाडौं–विशेष अदालतले मेलम्ची खानेपानी आयोजना अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ। यस प्रकरणमा निर्माण र परामर्शदाता कम्पनीहरू पनि दोषी ठहर भए, भने ११ जना सफाइ पाए।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, दोषीहरूको सजाय असोज ७ गते निर्धारण गरिने छ। अदालतको इजलासमा अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायणसिंह राई तथा मुरारीबाबु श्रेष्ठ रहेका थिए।

OM Sai Pathibhara Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मेलम्ची खानेपानी समितिका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुर र कार्यकारी निर्देशक सूर्यराज कँडेललाई असुलउपर नगरेको अभियोगमा दोषी ठहर गरिएको छ। अन्य दोषीहरूमा रामचन्द्र देवकोटा र परामर्शदाता कम्पनीका टिम लिडर शिवकुमार शर्मा पनि समावेश छन्।

अदालतले ठाकुर र कँडेललाई जनही १० करोड १० लाख ६१ हजार ७५ रुपियाँ बिगो कायम गरेको छ। देवकोटा र शर्माको हकमा जनही दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपियाँ बिगो कायम गरिएको छ। बिइटिएस कम्पनीको हकमा छ करोड २१ लाख ९३ हजार ५९६ रुपियाँ र सिएमसी डि राभेनाको हकमा २६ करोड ११ लाख छ हजार ९९१ रुपियाँ बिगो कायम गरिएको छ।

सफाइ पाउनेहरूमा डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजक्रिम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, र केदारप्रसाद अर्याल छन्।  गोरखापत्रबाट