काठमाडौं–उपसभामुख इन्दिरा रानाले आफूसँग अमेरिका लग्न खोजेका पाँच व्यक्ति को हुन् ? राष्ट्रसंघीय संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औं सत्रमा भाग लिन जाने भनिएका उनीहरूको महिला अभियानसँगको साइनो के हो  ? एउटै कार्यक्रममा भाग लिन सँगै जाने भनिएका ती व्यक्तिसँग उपसभामुखसँगको सम्बन्ध कस्तो हो  ? भन्ने जस्ता प्रश्न सतहमा आएका छन् ।

सोधखोजबाट उनीहरू कोही यातायात मजदुर हुन्, कोही जग्गा कारोबारी, कोही पूर्वशिक्षक हुन् त कोही पूर्वसैनिक भएको खुलेको छ । उनीहरू कसैको पनि महिला अधिकार अभियानसँग कुनै साइनो छैन । अझ आफू जाने भनिएको कार्यक्रमका बारेमा समेत जानकारी थिएन । उनीहरूलाई यतिमात्र भनिएको थियो, ‘भिसा लागेपछि पैसा तिर्नुपर्छ, अमेरिका जान पाइन्छ।’

OM Sai Pathibhara Hospital

अझ, कतिपयसँग अग्रिम पैसा असुलिएको थियो । उपसभामुखको लेटरप्याडमै पत्र लेखेर राष्ट्रसंघीय निकायको कार्यक्रममा जाने भनिएकाहरूमध्ये उपेन्द्र गौतम झापा अर्जुनधारा–६ का बासिन्दा हुन् । पूर्वसैनिक गौतम रास्वपाका शुभेच्छुक रहेको पार्टीका जिल्ला सभापति उमेश खरेलको भनाइ छ । त्यस्तै सुनसरी धरानकी सुष्मा लामा ‘रेडियोलोजिस्ट’ हुन् भने उनीसँग अमेरिका जाने योजनामा रहेका राजेश लामा काठमाडौंका घरजग्गा कारोबार गर्छन् ।

त्यस्तै म्याग्दीका धनप्रसाद गुरुङ अहिले पर्वतको कुस्मामा बस र माइक्रोबसको टिकट काउन्टरमा काम गर्छन् । सल्यानको कालिमाटी–२ निवासी सुजन घर्तीमगर केही वर्षअघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे, विदेश जाने भनेर डेढ वर्षदेखि दाङको तुलसीपुर झरेका छन् । यसरी फरक–फरक पृष्ठभूमिका व्यक्तिहरूलाई जम्मा गरेर बिचौलियासँग मोलतोल गराई राष्ट्रसंघको कार्यक्रममा लैजान भनी उपसभामुखको लेटरप्याड दुरुपयोग गरिएको प्रस्ट भएको छ । कान्तिपुर दैनिकबाट