काठमाडौं–भेरी नगरपालिका–१, रिम्नाका बासिन्दाले प्रयोग गर्दै आएको मुहानको पानी सुकेपछि छिमेकी जिल्ला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउने गरिएको छ ।

गत वर्ष कात्तिक १७ गते राति गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि यस्तो समस्या आएको हो । करिब पाँच किलोमिटर टाढा भेरी नगरपालिका–१, पिपेखोला गैरी खेतको मुहानको पानी खाएका ३२५ घरपरिवार धारामा पानी आउन छाडेपछि रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१, चाइनाबगरबाट गाग्रीमा बोकेर खानेपानीको जोहो गर्दै आएका छन् ।

OM Sai Pathibhara Hospital

भेरी नगरपालिका–१, रिम्नाका गगन रानाका अनुसार भूकम्पले गाउँबस्तीमा पानीको मुहान सुकेपछि अहिले खानेपानीको दु:ख हुन थालेको छ । गाउँबस्तीमा लामो समयदेखि पानीको हाहाकार भए पनि सरोकारवाला निकायले चासो नदिएका कारण रुकुमपश्चिमबाट पानी ल्याएर गुजारा चलाएको बताउनुभयो ।

भेरी नगरपालिका–१, रिम्नास्थित दिलमाया रानाले गाउँबस्तीका धारामा पानी आउन छाडेको करिब नौ महिना भएको बताउनुभयो । खानेपानीको व्यवस्थाका लागि कहीँकतैबाट पहल नभएको गुनासोसमेत उहाँले गर्नुभयो ।

भेरी नगरपालिका–१, भेरी त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने भावना रानाका अनुसार गाउँबस्तीका धारामा आउने पानीका मुहान सुकेपछि बालबालिकालाई समेत समस्या थपिएको छ । गोरखापत्र दैनिकबाट