काठमाडौं–सधैंझैं बुधबार बिहान बालकोटस्थित कोठाबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घरनजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् ।

ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत प्रिजा र सौर्य एयरलाइन्समा कम्युनिकेसन अधिकृत रहेका मनुराजको ४ वर्षदेखिको यो दैनिकी बुधबारको जहाज दुर्घटनासँगै टुंगिएको छ ।

OM Sai Pathibhara Hospital

पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मनुराज, प्रिजा र अधिराजको ज्यान गएको छ । बिहान कार्यालय पुगेपछि मनुराजले प्रिजालाई फोन गरेर सौर्यको जहाज विस्तृत परीक्षण र मर्मतका लागि पोखरा जाने र परिवारलाई लग्न सक्ने सुविधा रहेकाले छोरासहित एयरपोर्ट आउन भनेका थिए ।

त्यसपछि प्रिजा मन्त्रालयबाट सिधैं बालकोटस्थित कोठा पुगिन् । छोरालाई ल्याइन् । प्रिजाका बुबा प्रकाश खतिवडाले मोटरसाइकलमा छोरी र नातिलाई एयरपोर्ट पुर्‍याए र उनी एकीकृत समाजवादीको पार्टी कार्यालयतर्फ लागे ।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष रहेका खतिवडा हाल एकीकृत समाजवादीका प्रचार विभाग सचिव छन् । उनी पार्टी कार्यालय पुग्न नपाउँदै छोरी, ज्वाइँ र नाति चढेको सौर्यको जहाज दुर्घटना भएको खबर सुने । जहाज दुर्घटनापछि खतिवडा परिवारमाथि बज्रपात परेको छ । कान्तिपुर दैनिकबाट