काठमाडौं / जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीबन्दीको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र सङ्खुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका रहेका छन् । तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए । आज बिहान कारागारभित्र झडप हुँदा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका उनीहरु आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखिएको थियो । नियन्त्रणमा लिएर कारागारमा राखिएका कैदीबन्दी अकस्मात् अचेत भेटिनु शंकास्पद रहेको प्रमुख जिल्ला अधिकारी  शिवकुमार कार्की बताए । उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।