बिर्तामोड / बिर्तामोडका सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । नक्कली कागजपत्र बनाइ उनीहरूले विगत केही समययता  बिर्तामोडका बिभिन्न स्थानमा माग्दै आएका थिए । राजस्थान घर बताउने भारतीय नागरिक बसपार्कको एक होटेलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ ।

मंगलबार दिउँसो सडक तथा पसलहरूमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको सङ्ख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरूको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिए । बसपार्कको एक होटेलमा डेरा गरी बसेको फेला पारेपछि उनीहरूलाई नगर प्रहरीले पक्राउ गरी अनारमनी प्रहरीको जिम्मा लगाइएको हो । पक्राउ पर्नेहरू १२ जना बालबालिकासहित २४ जना छन् ।