बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिकाले बेरुजु रकम धेरै आएका कारण २६ करारका कर्मचारीलाई कामबाट निकालेको छ  । कर्मचारी बढी हुँदा बेरुजु धेरै आएका कारण कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई बिदा गरिएको पालिका उपाध्यक्ष अमृताकुमारी गच्छदार बताइन् । यता करारका कर्मचारी भने यतिबेला आन्दोलित बनेका छन् । 

गाउँपालिकाले सम्झौता नवीकरण नगरेपछि कामबाट निकालिएका  करारका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफूहरूलाई पुनर्बहालीको माग राख्दै मङ्गलबारदेखि सुरु गरेका छन् । मंगलबार आन्दोलनमा उत्रिएका कर्मचारीले कार्यालयको गेटमा तालाबन्दी गरेर प्रदर्शन गरेका छन् ।

तालाबन्दीका कारण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राही कार्यालयभित्र प्रवेश गर्न पाएनन् । आन्दोलनमा उत्रिएका कर्मचारीले गाउँपालिकाले विभेदपूर्ण तरिकाले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गरेका छन् । पालिकाले सब इन्जिनियर, अमिन, अहेब, कार्यालय सहायक लगायतलाई कामबाट निकालेको थियो ।