फुङलिङ / विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् ।

गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ । तोक्पेगालामा जन्मिएर अमेरिका पुगेकाले सहयोग सङ्कलन गरेर रु ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए । उनका अनुसार गुम्बा निर्माण गर्नका लागि एक जर्मनी नागरिक समेतले आठ लाख सहयोग उपलब्ध गराएको छ । मिक्वाखोला गाउँपालिकाबाट रु २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ ।

गुम्बा निर्माणका लागि अनुमानित रु दुई करोड लागत भए पनि अहिले रु २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिए । निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च  २५ लाख ऋण रहेको उनले बताए । गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ ।  आठ लाखका तीन वटा प्रतिमा, रु आठ लाख ५० हजार र रु पाँच लाख ५० हजारका एक एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका  छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको  छ ।