बिर्तामोड / धरानबाट झापाको काँकडभिट्टातर्फ आउदैँ गरेको मे १ ख २७४० नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको छ । तरहराको होम्स नजिकै भएको दुर्घटनामा तीव्र गतिमा धरान तर्फबाट आइरहेको बस सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा १४ जना यात्रु घाइते भएको ट्राफिक प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।






































