काठमाडौँ / प्रहरीले १५७ किलो अवैध लागू औषध गाँजासहित बाराबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका -१ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका -९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका -२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार , ३५ वर्षिय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं -२२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । 

गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरूको साथबाट बा ११ च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।