झापा / नेपाल प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले बाढीमा फसेका ८ जनाको सकुशल उद्धार गरेका छन् । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका हुन् । अविरल वर्षापछि सोमबार राति गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । राति करिब साढे १० बजे बाढीमा फसेको खबर आएपछि उनीहरूलाई उद्धार गरेर ११ बजेतिर सुरक्षित स्थानमा पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रबिन्द्र सिंह कार्कीले जानकारी दिए ।

यस्तै स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र  ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो । चुरे क्षेत्रमा अत्यधिक वर्षा हुँदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै  नदीपारि बस्न बाध्य भएका थिए ।नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति डोरीको सहायताले उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताए ।