काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली भई हाल मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बिहानदेखि मुसलधारे वर्षा भइरहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम झरी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा पनि हुने पूर्वानुमान छ ।
राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ भने कोशी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।






































