काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बाहिरिएको एक सय किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ ।
३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।