काठमाडौँ / बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधान एवं भौतिक योजना मन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए ।

सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्व सचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । अनुसन्धानको क्रममा प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त समेत रहेका सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।