काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनमा ल्याएको बताएका छन् ।

“मलाई थाहा छ बस सञ्चालन संघीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन”, उनले भने,“तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनुपर्छ ।”

OM Sai Pathibhara Hospital

सभापति लामिछानेले आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस सङ्ख्या थप्ने बताए । उनका अनुसार पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध हुनेछ । वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउन एक सय दिनको रोजगारीको विज्ञापन खोलेको उनले जानकारी दिए। यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियानका क्रममा आफ्नो सचिवालयका लागि एक जना प्रमुख कार्यकारी अधिकृतमा एक जनाको नियुक्ति गरेको समेत बताए ।

आजैबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई ‘मोबाइल क्लिनिक’को उपचार सेवा उपलब्ध गराउने र गम्भीर बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिदिने लामिछानेको भनाइ छ । चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरे ।