झापा / बैतडीमा वृद्ध भत्ता थापेर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको वृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले बताए ।

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर -३ स्थित कुलाउँको नबिल बैंकबाट बृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि परिवारले खोजी गरेका थिए । सोही क्रममा मंगलबार बिहान वडा नं ३ र ४ को सिमानामा  पर्ने गोगनपानी भन्ने स्थानमा  मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

वडा नं -६ को  रोडीदवलबाट नबिल बैंक रहेको स्थान कुलाउ सम्म पुग्न करिब ५ घण्टाको पैदल दूरीमा रहेकोले वडाका नागरिकहरूलाई समस्या हुने गरेको वडा अध्यक्ष पुजाराले बताए । मृत फेला परेका वृद्ध भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।