बिर्तामोड / झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको कार्यकक्षमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तालाबन्दी गरेको छ । एक युवतीसँग आपत्तिजनक भिडियो सार्वजनिक भएपछि युवा संघले तालाबन्दी गरेको हो । मदिराको नशाले लट्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि निरौला यतिबेला विवादमा परिरहेका छन् ।

संघका जिल्ला अध्यक्ष राम पौडेलले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँलाई ज्ञापनपत्र बुझाउँदै निरौलाको यो हर्कतले सिङ्गो दमककै बेइज्जत भएकाले उनलाई तत्काल कारबाही माग गरिएको छ । आइतबार नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने १५ जना कार्यपालिका सदस्यहरूले सामूहिक रुपमा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका थिए । सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेको भन्दै तत्काल कारबाही गरिनुपर्ने संघले जनाएको छ ।