काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तानी नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले आज बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् ।

रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेलमेट सहित एक घण्टा धर्नामा सहभागि भए । महासङ्घका अध्यक्ष रवि सिंहले राज्यको गैर जिम्मेवारपनका कारण महासङ्घले बाध्य भएर आन्दोलन गर्नु परेको बताए। म्याद भुक्तानीका बारेमा महासङ्घले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आएपनि कुनै सुनुवाइ नभएपछि आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष सिंहले बताए ।