२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा सोमबार देशभर यो दिवस मनाइएको हो ।
उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भइसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी सुरु भइसकेको छ। यस बीचमा संविधानका केही बुँदाहरू संशोधन गरिएको छ । तर, नागरिकता विधेयक लगायत केही मूलभूत विषयहरूमा भने दलहरूबीच सहमति नहुँदा अन्योलको अवस्थामा पनि रहेको छ । संविधान कार्यान्वयनका क्रममा आइपरेका अप्ठेराहरू सर्वोच्च अदालतमा पुग्दा शासनमा पनि न्यायालय हावी हुँदै गएको अनुभूति गरिएको छ ।
पहिलो नयाँ संविधान अनुसार गठन भएको पहिलो प्रतिनिधिसभा दुई पटक भङ्ग हुनु र त्यसको पुनःस्थापनाका क्रममा सर्वोच्च अदालतले देखाएको सक्रियताले न्यायिक प्रभाव बढाएको छ । त्यसमाथि प्रतिनिधिसभाको अन्तिम दिनसम्मै सभाको कार्यकाल कहिलेसम्म भन्ने अन्योल पनि देखियो ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग प्रस्ताव अलपत्र परेपछि उत्पन्न अन्योलले संविधान नै त्रुटीपूर्ण त होइन भन्ने आशंका पनि जन्माएको छ ।
अर्कोतर्फ संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा गरिएको थियो त्यो पूरा नहुँदा जनसाधारणमा भने निराशा उत्पन्न भएको छ ।
यसैबीच, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जना मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् भने ६ सय ८१ कैदीबन्दीको बाँकी सजाय माफ गरिदिएकी छिन् । सरकारले आज सोमबार देशभर सार्वजनिक बिदा समेत दिएको छ ।