काठमाडौं–तिहारको समयमा पटकाजन्य पदार्थ ओसारपसार र प्रयोग गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीले मुलुकी अपराध संहिता, २०७४ अनुसार यस कारबाहीको व्यवस्था रहेको जनाएका छन्।
उनले पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषण र दुर्घटना निम्त्याउने भएकाले यसको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरणमा कडा कारबाही गरिने बताए।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सीमा र राजमार्गमा चेकजाँच गरेर अवैध ओसारपसार नियन्त्रणका लागि सघन अनुगमन भइरहेको जनाएका छन्। दैलेखमा हालै पटाका पड्काउँदा एक १३ वर्षीय बालकको मृत्यु भएको घटनालाई ध्यानमा राख्दै प्रहरीले यस्ता पदार्थको प्रयोगले बालबालिका, वृद्धवृद्धा र अन्य व्यक्तिहरूको स्वास्थ्यमा असर पर्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।