काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको हो।

OM Sai Pathibhara Hospital

यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएपछि सकिन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ ।