झापा / नेपाल दूरसञ्चार प्राधिकरणले आज (बिहीबार) देखि सिस्टम चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल सिस्टममा चेक गरेर मात्र खरिद गर्न आग्रह गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एमडीएमएस तत्कालै लागू गर्ने बताएका पनि हालसम्म कार्यान्वयनमा भने आएको थिएन ।
यो प्रणाली नियामकले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । यससँगै मोबाइल सेटको गैर कानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
यद्यपि २०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।
आफूसँग भएको मोबाइल दर्ता छ कि छैन भनेर कसरी थाहा पाउने ?
आफूसँग भएको वा बजारमा खरिद गर्न चाहेको मोबाइल वैधानिक हो कि अवैध बाटोबाट भित्र्याइएको हो भन्ने कुरा थाहा पाउनका लागि सबैभन्दा पहिला हामीले मोबाइलको आईएमईआई हेर्नुपर्ने हुन्छ ।
सिम कार्ड प्रयोग हुने हरेक उपकरणमा १५ अङ्कको आईएमईआई रहेको हुन्छ । जुन एक अर्कासँग मेल खाँदैन । एक किसिमले आईएमईआई नम्बर सिम कार्ड लाग्ने कुनै पनि उपकरणको परिचय हो ।
हामीले आफ्नो मोबाइलमा *#06# डायल गरी त्यसको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ ।
विदेशबाट ल्याइएका मोबाइल कसरी वैध बनाउने ?
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमै आईएमईआई नम्बर दर्ता गर्ने सुविधा दिएको छ । विदेशबाट ल्याइएको वा उपहार आएको फोनको आईएमईआई नम्बर प्रयोगकर्ता आफैँले दर्ता गर्नुपर्छ ।
यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको आईएमईआई नम्बरसहित एउटा सरकारी परिचयपत्र पनि अपलोड गर्नुपर्छ । नेपालमा भ्याट बिलसहित किनेको मोबाइलको आईएमईआई भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन दिएको समयभित्र पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम हुनेछ ।
आईएमईआई नम्बरका आधारमा फोन वैध वा अवैध हो भनेर यो सफ्टवेयरले पत्ता लगाउनेछ । अवैध मोबाइल भए प्रणालीमार्फत बन्द गर्न सकिन्छ । त्यसमा सिमकार्ड नै चल्दैन ।