काठमाडौं /  अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि सेना विवादमा मुछिएको हो । सार्वजनिक भएको सो पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर छ ।

OM Sai Pathibhara Hospital

सन् २०१५ को अक्टोबर २७ अर्थात् १० कात्तिक २०७२ मा तत्कालीन प्रधान सेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको खुलेको छ । त्यसबखत मुलुकमा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

नेपाली सेनाले भने सो पत्र सार्वजनिक भएसँगै बिहीबार नै पत्र आधिकारिक रहेको तर कुनै पनि एलाइन्समा जानेगरी सम्झौता नगरिएको भनेको छ ।

‘सेनाले पठाएको पत्र शतप्रतिशत आधिकारिक हो तर त्यो अर्कै कन्टेस्टमा लेखिएको हो, कुनै पनि डिजास्टरका लागि उद्धार र राहतमा त्यसबखत आग्रह गरिएको थियो, भूकम्पको समय भएकाले त्यस बखत पठइएको पत्र हो, कुनै एलाइन्समा जाने गरी सम्झौता गरिएको होइन, बिनासर्त बिनाएलाइन्स सरकारको पूर्वस्वीकृति लिएर सो पत्र पठाइएको हो,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले  भने ।

अमेरिकी दूतावासले भने बुधबार पत्रकारहरूसँगको संवादमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रस्टीकरण दिएको थियो । राजधानी दैनिकबाट