बाजुरा / बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ ।

हिमाली –४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो ।

चदारका श्रीमान् बिनेले भने, ‘गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।’

चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्य चौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ ।
घरमै सुत्केरी भएकी गङ्गालाई रक्तस्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको बताइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्य चौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए ।