काठमाण्डौ / स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमवार गरेको सरुवाको निर्णय स्थगन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम समयमा आएर वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गराएका छन् ।

राज्यमन्त्री स्तरीय निर्णयबाट सोमबार भएको सरुवाको निर्णयलाई स्थगन गराएका देउवा जागेश्वरको विषयलाई लिएर आलोचनामा तानिएपछि अन्तिम समयमा आएर उनलाई भने प्रसूति गृहमा पठाइएको छ ।

विवादास्पद छविका गौतम आफूले गरेका बेथिति र भ्रष्टाचार जोगाउन कर्मचारीमाथि दमनमा उत्रिएपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले उनी सहित केहीको सरुवाको निर्णय गरेका थिए । गौतमको स्थानमा डा. रुद्र मरासिनीलाई सरुवाको निर्णय भएको थियो । तर देउवाले सरुवा स्थगन गराएपछि आलोचना सुरु भएको थियो ।

वीरका कर्मचारी र स्वास्थ्यकर्मी अनि जनदवाव बढेपछि प्रधानमन्त्रीले अन्यको सरुवा रोकेर गौतमको स्थानमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका छन् । आजै नियुक्त भएका बस्नेतले यसअघि वीर अस्पतालको निर्देशक भएर काम गरिसकेका छन् ।