काठमाडौं । काठमाडौं उपत्यकाको वर्षौंदेखिको फोहोर व्यवस्थापन समस्या समाधानका लागि बोलाइएको बैठक नै मेयर र रास्वपा सांसदबीचको चर्काचर्कीले विवादित बनेको छ। बैठकमा रास्वपा सांसद आशिका तामाङ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनबीच भनाभन भएपछि आशिका बैठक छाडेर हिँडेकी हुन्।
भौतिक पूर्वाधारमन्त्री अस्वस्थ भएपछि सञ्चारमन्त्री विक्रम तिमल्सीनाले आयोजना गरेको बैठकमा उपत्यकाका ९ जना नगरप्रमुख सहभागी थिए। बैठकको उद्देश्य फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नु थियो। तर मेयरहरूले आफ्नो धारणा राख्दै गर्दा बैठकको वातावरण भने आरोप–प्रत्यारोपतर्फ मोडियो।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो धारणा राखेर बैठकबाट बाहिरिन खोजेपछि आशिकाले आपत्ति जनाइन्। उनले अघिल्लो बैठकमा समेत कम मेयर उपस्थित भएको र अहिले पनि सहभागीहरू बैठक नसकिँदै हिँड्न खोजेको भन्दै प्रश्न उठाइन्।
त्यसपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आशिकाको शैलीप्रति आपत्ति जनाउँदै फोहोर व्यवस्थापनको इतिहास र कानुनी जटिलता बुझेर अघि बढ्नुपर्ने बताए। महर्जनले सन् २०११ मा फिनिस कम्पनी र सरकारबीच भएको सम्झौता तथा त्यससँग जोडिएका अदालतका मुद्दा उल्लेख गर्दै समस्या केवल मेयरहरूलाई प्रश्न गरेर समाधान नहुने तर्क गरे। उनले आशिकाको शैलीलाई आक्रामक भन्दै बैठक त्यसरी अघि बढ्न नसक्ने बताए।
‘मेयरहरू सबै बैठकमा आउनुपर्यो नि’ भन्ने आशिकाको भनाइपछि पनि विवाद रोकिएन। चिरिबाबुले उनको कुरा आक्रामक भएको भन्दै आपत्ति जनाएपछि आशिका झनै आक्रोशित भइन्। अन्ततः आशिकाले आफ्नो ब्याग टिपिन् र बैठक नै छाडेर बाहिरिइन्। बाहिरिँदै गर्दा उनले अब अर्को छलफल बन्चरेडाँडामै गर्ने बताइन्। बन्चरेडाँडा उनको निर्वाचन क्षेत्र धादिङ–१ अन्तर्गत पर्छ र त्यहाँको फोहोर व्यवस्थापन तथा स्थानीय सरोकारको विषयमा उनी सक्रिय रहँदै आएकी छन्।
आशिका बाहिरिएपछि भने चिरिबाबु महर्जनले व्यंग्य गर्दै ‘उहाँको जाने नै बानी छ कि जहिले पनि’ भन्दै कटाक्ष गरे। त्यसपछि महर्जनले बैठकको संयोजन गरिरहेका सञ्चारमन्त्रीसमक्ष समेत असन्तुष्टि पोखे। आफू चारवटा जरुरी बैठक छाडेर यहाँ आएको तर बोलाएरै आफ्नो मानमर्दन गरिएको उनको गुनासो थियो। उनले अंग्रेजीमा ‘ध्जय तजभ जभििरु’ भन्दै बैठकको शैलीप्रति कडा आपत्ति जनाए।
महर्जनले बैठकको अध्यक्षता गर्ने व्यक्तिले छलफललाई नियन्त्रणमा राख्न सक्नुपर्ने भन्दै आगामी बैठक व्यवस्थित बनाउन आग्रहसमेत गरे। यसरी फोहोरको पहाड हटाउने उपाय खोज्न बसेको बैठकमै राजनीतिक र स्थानीय नेतृत्वबीचको तिक्तता सतहमा आएको छ। वर्षौंदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनमा सहमति खोज्ने प्रयास भइरहेका बेला बैठकमै सहभागीबीच दूरी बढेपछि अब आगामी छलफल कसरी अघि बढ्छ भन्ने प्रश्नसमेत उठेको छ।
फोहोर व्यवस्थापनको समस्या उस्तै छ, तर समाधान खोज्ने बैठकमै विवाद चर्किएको छ ।






































