काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिलाई थप विस्तार गर्दै ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा आज बसेको केन्द्रीय समिति बैठकले उनीहरूको मनोनयन गरेको हो।
मनोनीत ९ जनामध्ये तीन जना वर्तमान सरकारका मन्त्री छन्। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई केन्द्रीय सदस्य बनाइएको छ। उनीहरूले यसअघि भएको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरेका थिएनन्।
त्यस्तै, पार्टीका पूर्वमहामन्त्री भूपदेव शाह पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। उनीसहित पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र भक्तबहादुर राईलाई पनि केन्द्रीय समितिमा ल्याइएको छ।
यससँगै रास्वपाको केन्द्रीय संरचनामा सरकारमा रहेका मन्त्रीदेखि पार्टीका पूर्वपदाधिकारी र विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको प्रतिनिधित्व थपिएको छ।
विशेषगरी महाधिवेशनमा प्रतिस्पर्धा नगरेका तीन मन्त्रीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिनुलाई पार्टी र सरकारबीचको राजनीतिक समन्वयलाई थप संस्थागत गर्ने कदमका रूपमा हेरिएको छ।
सभापति लामिछानेको प्रस्तावमा भएको यो मनोनयनले महाधिवेशनपछि पार्टीको केन्द्रीय संरचना विस्तारसँगै सरकारमा रहेका नेताहरूलाई पार्टीको निर्णय प्रक्रियामा थप सक्रिय बनाउने संकेत दिएको छ।
अब मनोनीत ९ सदस्यसहित रास्वपाको केन्द्रीय समितिमा नयाँ राजनीतिक समीकरण र जिम्मेवारी बाँडफाँट कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।






































