काठमाडौं । प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई लिएर सार्वजनिक चासो बढिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रमण निजी रहेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाह निजी भ्रमणमा पोखरा हुँदै मुस्ताङतर्फ गएको जानकारी दिएका हुन् ।

उनका अनुसार यो सरकारी कार्यक्रमअन्तर्गतको औपचारिक भ्रमण नभएकाले भ्रमणको थप विवरण आवश्यक परे प्रधानमन्त्रीको निजी सचिवालयबाट जानकारी लिनु उपयुक्त हुनेछ ।

प्रधानमन्त्री शाह आज पोखरा हुँदै मुस्ताङतर्फ लागेका हुन् । तर प्रधानमन्त्रीको यात्रा निजी भनिएपछि भ्रमणको उद्देश्य, कार्यक्रम र त्यहाँ हुने भेटघाटबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

सरकारको नियमित कामकारबाहीभन्दा बाहिरको निजी भ्रमण भएकाले प्रधानमन्त्री कार्यालयले पनि विस्तृत जानकारी नदिने संकेत गरेको छ । प्रवक्ता अर्यालले कार्यालयको तर्फबाट यति मात्रै जानकारी दिन सकिने भन्दै थप विवरणका लागि निजी सचिवालयतर्फ संकेत गरेका छन् ।

यससँगै प्रधानमन्त्रीको मुस्ताङ यात्रालाई लिएर सरकारी भ्रमण हो कि निजी यात्रा भन्ने अन्योल भने प्रधानमन्त्री कार्यालयको स्पष्टीकरणसँगै हटेको छ ।

अब प्रधानमन्त्री शाहको मुस्ताङ बसाइमा कुन–कुन कार्यक्रम हुन्छन्, कसलाई भेट्छन् र भ्रमणको वास्तविक उद्देश्य के हो ? भन्ने विषयमा चासो बढेको छ ।