एजेन्सी /  गाजा सहरको पश्चिमी समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार हमास सदस्यसहित कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ।

घटनामा अन्य १० जना घाइते भएका छन्, जसमा महिला र बालबालिकासमेत रहेका जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण अचानक भएको थियो। समुद्री किनारमा गर्मीबाट राहत लिन र आश्रय लिएर बसेका सर्वसाधारणमाथि क्षेप्यास्त्र खस्दा घटनास्थलमा ठूलो मानवीय क्षति भएको उनीहरूको भनाइ छ। उक्त क्षेत्रमा लामो समयदेखि सयौँ विस्थापित परिवार अस्थायी रूपमा बसोबास गर्दै आएका थिए।

स्थानीय बासिन्दाले विस्फोटपछि उद्धार कार्य निकै कठिन बनेको र धेरै घाइते तथा मृतकको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन्। हमासले आक्रमणको कडा निन्दा गर्दै यसले युद्धविराम प्रयासलाई कमजोर बनाउने उद्देश्य बोकेको आरोप लगाएको छ। इजरायल र हमासबीच सम्भावित युद्धविराम तथा गाजाको भविष्यबारे अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल भइरहेका बेला यो घटना भएको हो।

हालै अमेरिकी र इजरायली नेतृत्वबीच गाजाको सुरक्षा, निशस्त्रीकरण र पुनर्निर्माणबारे छलफल भएको थियो। यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म सैन्य कारबाही नरोकिने अडान दोहोर्याएका छन्। हमासले भने स्थायी युद्धविराम, इजरायली सेना फिर्ता र गाजाको भावी प्रशासनबारे सहमति भएपछि मात्र थप प्रगति सम्भव हुने जनाएको छ।