काठमाडौं / प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको सिनेमा ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । 

निर्देशक पौडेलले सिनेमाको मुख्य भूमिकामा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित गरिएको जानकारी दिएका हुन् ।निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हुनेछ । घोषणा गर्दा सुरुमा सिनेमाको नाम ‘मेरो अधुरो प्रेम’राखिएको थियो । हाललाई यो नाम होल्ड गर्दै ‘मायालु’ को काम अघि बढाइएको हो ।

मायालु’ प्रदर्शनपश्चात ‘मेरो अधुरो प्रेम’को नाममा पनि सिनेमा बनाइने निर्देशक पौडेलले बताए । आकृतिको यो दोस्रो सिनेमा हो । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छन् । ‘मुक्तिपुर’ प्रदर्शन भएको छैन । पहिलो सिनेमा प्रदर्शनअघि नै आकृति नयाँ सिनेमामा आबद्ध भएकी हुन् । नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकी मोडलसमेत हुन् । ‘मायालु’मा उनी मुख्य भूमिकामा देखिनेछिन् ।

मुख्य अभिनेत्रीका रूपमा आकृति फाइनल भएसँगै सिनेमाका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए । यसअघि नै सिनेमाको मुख्य अभिनेताका कबीर खड्का अनुबन्धित भइसकेका छन् । निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेम कथामा आधारित हुनेछ । निर्देशक पौडेलकै कथा रहेको सिनेमाको पटकथा अनिल कुर्मीको पटकथा रहनेछ । सिनेमामा मुख्य कलाकारबाहेक अन्य पात्रहरू अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशक पौडेलले बताए ।

सिनेमाको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ । अस्ट्रेलियाबाट नै सिनेमाको छायांकन सुरु हुनेछ। साउनमा छायांकन सुरु गर्ने तयारी गरिएको भए पनि कलाकारहरूको भिसा प्रक्रियाका कारण सिनेमाको छायांकन समयमै सुरु हुन सकेन । अब भने दशैंपछि छायांकन सुरु गर्ने तयारी भइरहेको निर्देशक पौडेलले बताए । सिनेमा शरद महतोले छायांकन गर्नेछन् । सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा सुरेन्द्र रावलको लगानी रहनेछ ।

उनले एउटा सुन्दर लभस्टोरी कथा दर्शकलाई पस्किने हेतुले सिनेमा निर्माणमा पाइला चालेको बताए। यो सिनेमाका सह–निर्माता विवेक पौडेल हुन् । शिवाकर प्रसाईं कार्यकारी निर्देशक रहेको सिनेमामा सुनिल निउरे मुख्य सहायक निर्देशक र बम बहादुर थापा एसोसियट निर्देशकका रूपमा जोडिएका छन् । सिनेमामा अनमोल थापाको संगीत रहनेछ।