काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक निकायमाथि नियन्त्रण कायम गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर लामो समय राखिएको भनिएको घटनाप्रति असन्तुष्टि जनाए।

उनले संवैधानिक निकायलाई सरकारको प्रभावमा पारेर ‘लाचार छाया’ बनाउने प्रयास लोकतान्त्रिक व्यवस्थाकै लागि चिन्ताजनक भएको बताए।‘अख्तियार नियन्त्रित भयो। कुनै विषयमा सात घण्टा थुनेर मुद्दा चलायो भन्ने सुनेको छु। संवैधानिक संस्थालाई लाचार छाया बनाउने कामप्रति दुःख व्यक्त गर्छु,’ केसीले भने।

केसीले अख्तियारको स्वायत्ततामाथि प्रश्न उठ्ने गतिविधिले भ्रष्टाचार नियन्त्रणको अभियान नै कमजोर बन्ने बताए। सरकार र संवैधानिक निकायबीचको सम्बन्ध हस्तक्षेपमा होइन, कानुन र संविधानको सीमाभित्र हुनुपर्ने उनको भनाइ थियो। बैठकमा उनले भ्रष्टाचारको रकम विदेश पुगेको विषयलाई समेत गम्भीरतापूर्वक अनुसन्धान गर्न अख्तियारलाई चुनौती दिए। विदेश लगिएको भनिएको भ्रष्टाचारको रकमबारे नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर अनुसन्धान अघि बढाउनुपर्ने उनको माग थियो।

‘आँट पुग्छ जस्तो लाग्दैन, तर गरोस्,’ भन्दै केसीले अख्तियारले आर्थिक अपराधको अन्तर्राष्ट्रिय आयामसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए। उनको भनाइले अख्तियारको संस्थागत स्वतन्त्रतासँगै विदेशमा लुकाइएको भनिएको भ्रष्टाचारको रकम फिर्ता ल्याउने विषयलाई पनि राज्य व्यवस्था समितिमा जोडेको छ।