हेटौंडा । बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाको गठबन्धनबाट नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ। नेकपाका नेता सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी गरिएको छ भने बाँकी मन्त्रालयमा पनि दलहरूले आ–आफ्ना प्रतिनिधि पठाउने तयारी गरेका छन्।
मन्त्रालय भागबण्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, नेकपाले सभामुखसहित दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ। एमालेबाट किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने दाबी यसअघि नै ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष पेस भइसकेको छ।
नेकपाले पाउने दुई मन्त्रालयमध्ये अर्थ मन्त्रालयमा सरल सहयात्रीको नाम टुंगिए पनि अर्को मन्त्रालयका लागि भने निर्णय हुन बाँकी छ। खानेपानी, ऊर्जा तथा सिँचाइ वा उद्योग, पर्यटनसम्बन्धी मन्त्रालयमध्ये कुन लिने भन्ने विषयमा गठबन्धनभित्र अझै छलफल भइरहेको छ।
नेकपाबाट अर्को मन्त्रीमा रमा आले मगरको नाम चर्चामा छ। सभामुख पदका लागि भने काभ्रेका रत्नप्रसाद ढकालको नाम चर्चामा रहे पनि औपचारिक निर्णय भइसकेको छैन। करिब एक वर्षदेखि रिक्त सभामुख पद नयाँ सरकार गठनसँगै पूर्ति गर्ने तयारी छ।
उता राप्रपाले तीन मन्त्रालय पाउने सहमति भए पनि बागमतीमा राप्रपाको समर्थनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ। राप्रपा प्रदेश संसदीय दलले गरेको समर्थनलाई केन्द्रले अनधिकृत भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरिसकेको छ।
यसका बाबजुद एमाले र नेकपाका नेताहरूले राप्रपाको आन्तरिक विवादले सरकार गठनमा असर नपर्ने दाबी गरेका छन्। सहमतिअनुसार आजै मुख्यमन्त्रीसहित मन्त्रीहरूको नियुक्ति र शपथको तयारी गरिएको छ।






































