काठमाडौं / नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ सार्वजनिक गरेको छ।

कम्पनीले उक्त गाडीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा गाडीको अनावरण गरेका हुन्। कम्पनीका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुलमा भएको समायोजनबाट प्राप्त लाभ ग्राहकसम्म पुर्‍याउने उद्देश्यले गाडीको मूल्य प्रतिस्पर्धी राखिएको हो।

एमएडब्लुका प्रबन्ध निर्देशक अग्रवालले ग्राहकलाई किफायती मूल्यमा आधुनिक प्रविधियुक्त फुल एसयूभी उपलब्ध गराउने लक्ष्यका साथ नामी भिगो ई–२ ल्याइएको बताए। उनका अनुसार गाडीलाई मनाङ, मुस्ताङ र सोलुखुम्बुजस्ता कठिन भौगोलिक क्षेत्रमा परीक्षण गरिएको छ। नेपाली सडक र मौसमअनुसार यसको कार्यक्षमता सुनिश्चित गरिएको कम्पनीको दाबी छ।अग्रवालले नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हाल ईभीको बजार हिस्सा उल्लेखनीय रूपमा विस्तार भएको बताए।

विश्वव्यापी रूपमा ब्याट्रीको माग बढेकाले आपूर्तिमा केही चुनौती देखिए पनि नेपाली बजारमा नामी भिगोप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ। कम्पनीका अनुसार हाल गाडीका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको छ। दसैं नजिकिँदै जाँदा माग अझ बढ्ने अपेक्षासहित इच्छुक ग्राहकलाई समयमै बुकिङ गर्न आग्रह गरिएको छ। डोङफेङका क्षेत्रीय प्रबन्धक झु क्विङले कम्पनीले विश्वभर ६ करोडभन्दा बढी सवारी उत्पादन गरिसकेको जानकारी दिँदै नेपालका भौगोलिक अवस्थालाई ध्यानमा राखेर नामी भिगो ई–२ विकास गरिएको बताइन्।

उनले नेपालमा डोङफेङका २ हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको दाबी गरिन्। एमएडब्लुले नामी भिगो ई–२ लाई आधुनिक प्रविधि, सुरक्षा सुविधा र आकर्षक डिजाइनको संयोजन भएको फुल एसयूभीका रूपमा प्रस्तुत गर्दै नेपाली ईभी बजारमा नयाँ विकल्प थपिएको जनाएको छ।